प्रदेश १ का छ जिल्लामा गाँजा फडानी गर्दै प्रहरी



गाँजा फडानी गर्दै प्रहरी । फाइल तस्वीर ।

फाल्गुनन्द सम्वाददाता
फिदिम, २५ कात्तिक

प्रहरीले प्रदेश नं. १ का छ वटा जिल्लाहरुमा गाँजा फडानी एवं नष्ट गर्ने अभियान चलाएको छ ।

अबैध रुपमा लगाइएका तथा प्राकृतिक रुपमा आफँै उम्रिएका गाजाका बोटहरुलाई फडानी गरी नष्ट गर्ने कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलामका बिभिन्न स्थानमा गाँजाका बोटहरु फडानी गरी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहीदभूमी, साँगुरीगढी र धनकुटाकै आँखिसल्ला लगायतका क्षेत्रको करीब २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा अबैध रुपमा लगाइएका तथा प्राकृतिक रुपमा आफैँ उम्रिएका १ लाख ५० हजार गाँजाको बोटहरु फडानी गरी नष्ट गरिएको छ ।

यसैगरी खोटाङको इलाका प्रहरी कार्यालय हलेशी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेशी तुवाचुङ नगरपालिका–१ र २ का डिकुवा, दाम्ली, र बाँहुनीडाँडा लगायतका क्षेत्रमा लगाइएका करीव ५ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुर तथा इलाका प्रहरी कार्यालय घोडेटार र बोयाङबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की भन्ने स्थानमा अन्दाजी ३२ रोपनी जग्गामा लगाइएको १२ हजार ५ सय बोट गाजा फडानी गरी नष्ट गरेको छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका तथा ताप्ली गाँउपालिका बिभिन्न स्थानहरुमा ४० रोपनी जग्गामा लगाइएको २५ हजार बोट गाजा फडानी गरी नष्ट गरेको छ ।

सुनसरीको इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका–६ मा लगाइएका करीव ३ सय गाजाका बोट फडानी गरी नष्ट गरेको छ । यस्तै इलामको प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका बिभिन्न स्थानमा लगाइएका ९० बोट गाजा फडानी गरी नष्ट गरेको छ ।

पछिल्लो समयमा अबैध रुपमा गाजा खेती गरेको पाइएकोले प्रदेश प्रहरी कार्यालयले कार्ययोजना बनाई सम्बन्धित जिल्लाहरुलाई बिशेष अभियान नै सञ्चालन गरेर गाजा फडानी गर्ने निर्देशनको जनाएको छ । निर्देशनपछि गाँजा फडानी र नष्ट गर्न प्रहरीले ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन गर्दै आएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्