नेपालको अपराजित यात्रा कायमै, किर्गिस्तान सोझो सेटमा पराजित



एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप–२०१९ मा नेपाल लगातार दोस्रो जित दर्ता गरेको छ।

आइतबार अफगानिस्तानविरुद्धको खेलमा ३–० को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा शानदार सुरुआत नेपालले सोमबार भएको खेलमा किर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो।

खेलको सुरुआतदेखि नै पकड बनाएको नेपालले पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको थियो।

प्रतिस्पर्धात्मक दोस्रो सेटको सुरुआतमा ४-१ को अग्रता बनाएको नेपालविरुद्ध किर्गिस्तानले राम्रो पुनरागमन गर्दै कडा चुनाैति दिएको थियो। 

तर, १९-१७ को अवस्थामा पुगेर लगातार ५ अंक जोडेको नेपालले २५-१९ ले दोस्रो सेट पनि कब्जा गर्‍यो।

सुरुआतदेखि नै लिड गरेको नेपालले २५- २० नतिजामा तेस्रो सेट जित्दै खेल एक पक्षिय रूपमा आफ्नो पक्षमा पार्‍यो।

वैदेशिक प्रशिक्षणका दाैरान थाइल्यान्डमा रहँदा खुट्‍टामा चोटबाट मुक्त हुने क्रममा रहेकी नेपालकी महत्त्वपूर्ण खेलाडी सरस्वती चाैधरीलाई आजको खेलमा समावेश गरिएको थियो।

राउण्ड रोविन लिगअनुसार पहिलो चरणबाट शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। लिगको अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ।

अरुणाको कप्तानीमा रहेको टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषा विष्ट, कमला पुन र सलिना श्रेष्ठ छन्।

प्रतिक्रिया दिनुहोस्