धैर्य र संघर्ष सिकाउने चलचित्र ‘जीवन काँडा कि फूल’



फाल्गुनन्द खवर सम्वाददाता
फिदिम, २६ कात्तिक

धैर्य र संघर्ष कसरी गर्ने भनेर सिकाउने चलचित्र हो ‘जीवन काँडा कि फूल’ धनकुटाको केडिबी हलबाट बाहिरिँदै धनकुटा ६ की सावित्रा राईले भनिन्, ‘म पनि त्यही समाजकी महिला हुँ । वास्तवमा हाम्रो समुदायमा एउटा महिला त्यो पनि अपाङ्गलाई समाजले कसरी हेला गर्छ र उसले कसरी संघर्ष गरेको हुन्छ भनेर चलचित्र भएको पाएँ ।’

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘जीवन काँडा कि फूल’ देशभरका चलचित्र हलमा एकसाथ प्रदर्शन भइरहेको छ । त्यही चलचित्र हेरेर बाहिरिएका अर्का धनकुटाको छथर जोरपाटीका निराजन कार्कीले चलचित्रले जीवनमा संघर्ष नै सफलता सूत्र हो भनेर सन्देश दिएको बताए ।

‘मानिसको जीवनमा संघर्ष नै ठूलो कुरा रहेछ’ उनले भने, ‘संघर्षबाट सबै सफलता हात पार्न सकिन्छ भन्ने सन्देश पाएँ ।’ बाल्यकालबाट दीर्घ रोगबाट थलिएकी एउटी बालिकाले परिवार, समाजको बन्धनलाई तोड्दै कसरी सफल भइन् भन्ने विषयमा ‘जीवन काँडा कि फूल’को कथामा भेटेको दर्शकहरूको भनाइ छ ।

‘जीवन काँडा कि फूल’ हेरेर फर्केका दर्शकले ‘जीवन काँडा कि फूल’लाई अपांगको संघर्षसँग जोडेर व्याख्या गरेका छन् । अपांग भएपछि बालक अवस्थामै परिवारले पूरा गरिदिन सक्ने चाहना पूरा नगर्नु तथा परिवार तथा समाज कस्तो छ भनेर जस्ताको तस्तै उतारको दर्शकको बुझाइ छ । ‘जीवन काँडा कि फूल’ मा महिलाले महिलामाथि गरेको विभेदसमेत देखाइएको छ ।

चलचित्रमा विद्यालय जान समेत वञ्चित झमकले घरमा उनका भाइ बहिनीले पढेको समेत हेर्न पाउँदिनन् । परिवारका सदस्यले तैले पढेर के गर्छेस् भन्दै हटाउने गरेको चलचित्रको कथामा छ । आफैँले संघर्ष गर्दा गर्दा स्थानीय तथा राष्ट्रियस्तरका पत्रिकामा झमकको लेख छापिएर पत्रकार घरैमा पत्रिका पु¥याउन आएपछि परिवारले उनलाई केही राम्रो गरेको चलचित्रमा देखाइएको झल्काइएको दर्शक पदमराज रखालले बताए ।

उनले भने ’चलचित्रमा झमकको जन्मदेखि उनको कृति ‘जीवन काँडा कि फूल’ ले मदन पुरस्कार पाएसम्म देखाइएता पनि झमकको जीवन भोगाइ सबै नसमेटिएको छ ।’ चलचित्रमा साहित्यकार झमक घिमिरेले आफ्नो जीवन भोगाइ संगालेर लेखेको कृति ‘जीवन काँडा कि फूल’को कथा समेटिएको छ ।

‘जीवन काँडा कि फूल’ले मदन पुरस्कार प्राप्त गरेको थियो । चलचित्रले साढे तीन दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको घिमिरे बताइन् । उनले आफ्नो मात्र नभएर फरक शारीरिक अवस्था भएका व्यक्तिको भोगाइका रूपमा आफूले चलचित्रलाई लिएको बताइन् । चलचित्रमा ‘मैले क लेख्न जाने’ र ‘तिमीलाई जस्तै मलाई पनि रहर उत्ति नै छ’ बोलका दुई गीत समेटिएको छ ।

झमक घिमिरेको जीवनमा आधारित भएकाले जोकोहीले हेर्नैपर्ने निर्माता विनोद विष्टको भनाइ छ । विष्ट ब्रदर्शको ब्यानरमा निर्माण भएको चलचित्र ‘छुट्टै विशेषता बोकेको भएकाले हालसम्म राम्रो प्रतिक्रिया आइरहेको उनले बताए । ‘काठमाडौंको गोपीकृष्ण हललगायत देशभर चलिरहेको छ’, उनले भने, ‘उपत्यका बाहिरबाट राम्रो प्रतिक्रिया आएको छ हेरेका दर्शकले राम्रो भनिरहनुभएको छ ।’

यता, झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंले चलचित्रले जीवन संघर्ष र साधना हो भनेर देखाएको बताए । चलचित्रमा समेत झमक घिमिरे साहित्य कला प्रतिष्ठान गठन गर्न लागेको गुरागाइले भने, ‘चलनचल्तीमा आएका चलचित्र काल्पनिक भएको ‘जीवन काँडा कि फूल’ वास्तविक जीवनमा आधारित रहेको छ’ उनले थपे, ‘यो चलचित्रले अझ भन्नुपर्दा मनोरञ्जन होइन प्रेरणा दिन्छ ।’

घिमिरे सानो छँदाको पुरानो घर र पुस्तकमा वर्णन गरिए अनुसारको दृश्य जुटाएर कृत्रिम घर निर्माण गरी घिमिरे निवास कचिडेमा अधिकांश छायांकन गरिएको थियो । विष्टका अनुसार ९० प्रतिशत धनकुटा र बाँकी धरान तथा राजधानीमा छायांकन भएको छ। चलचित्रको सुरु र अन्त्यमा झमक स्वयंसमेत देखिएकी छन् । चलचित्रमा झमकको भूमिका भने फरकफरक उमेरका आधारमा तीनजनाले गरेका छन् ।

विष्टले निर्माण तथा निर्देशन गरेको यो चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले गरेकी छन् । त्यस्तै, झमककी बहिनीको भूमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुबाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुर आमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमकको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको छ। चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । (थाहा खवरबाट)

प्रतिक्रिया दिनुहोस्