कृषि क्षेत्रमा नेपाली कामदार लैजान जापानको चासो



फाल्गुनन्द सम्वाददाता
फिदिम, २५ कात्तिक

जापानमा कृषि क्षेत्रको लागि नेपालबाट दक्ष कामदार लैजान भाषा र सीप परीक्षा सञ्चालन हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र जापानका कृषि वन तथा फिसेरी मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाको नेतृत्वमा आएको जापानी प्रतिनिधिमण्डलको टोलीबीच सोमबार यस विषयमा छलफल भएको छ ।

छलफलमा यसअघि तय भएको विभिन्न १४ क्षेत्रमध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्नेबारे कुरा भएको हो ।

छलफलमा मन्त्री विष्टले अहिले चलिरहेको नर्सिङ कियर गिभर लिने प्रकृयालाई थप गुणस्तरीय र विश्वसनीय बनाउन समेत अनुरोध गर्नुभयो ।

छलफलमा जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख नाकडाले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान जापान इच्छुक रहेको भन्दै नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइकामार्फत सहकार्य गर्न सकिने बताउनुभयो ।

मन्त्री विष्टले नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेकोले यसबाट जापान थप लाभान्वित हुन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्