अस्ट्रेलियाको पूर्वी क्षेत्रमा भीषण डढेलो, कम्तीमा ३ को मृत्यु



न्यु साउथ वेल्स — अस्ट्रेलियाको पूर्वी क्षेत्रमा फैलिएको डढेलोका कारण कम्तीमा ३ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि फैलिएको डढेलोका कारण हालसम्म कम्तीमा ३० जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार सयौं विस्थापित छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार पूर्वी राज्य न्यु साउथ वेल्सका कम्तीमा सय स्थानमा डढेलो सल्केको छ । तटीय सहर फोस्टरमा फैलिएको डढेलो अनियन्त्रित भएको छ । त्यसैगरी, फोस्टरबाट ६० किलोमिरटर उत्तरमा पर्ने बबिन सहर डढेलोका कारण पूर्णरूपमा ध्वस्त भएको जनाइएको छ । डढेलोका कारण केही पुल, विद्यालय तथा विद्युत् लाइन ध्वस्त भएका छन् । न्यु साउथ वेल्सका अधिकारीले मृतकहरूको संख्या बढ्न सक्ने आशंका गरेका छन् । त्यसैगरी, क्विन्सल्यान्ड राज्यमा हजारौं सर्वसाधारण उद्धारको पर्खाइमा रहेका बीबीसीले उल्लेख गरेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले डढेलो नियन्त्रणका लागि १ हजार ३ सय अग्निनियन्त्रक तथा सुरक्षाकर्मी परिचालन गरिएको जनाए । उनले आवश्यक परे सेना परिचालनको स्वीकृति दिने बताएका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । मरिसनले अस्ट्रेलियामा पछिल्ला महिना पटकपटक ढडेलो फैलिएको भन्दै रोकथामका लागि सबै सचेत बन्नुपर्नेसमेत आग्रह गरेका छन् । हरेक वर्ष डढेलोको समस्यासँग जुध्दै आएको अस्ट्रेलियामा यस वर्ष भने विगतको तुलनामा ठूलो क्षेत्रमा ढडेलो फैलिएको छ । गत साता न्यु साउथ वेल्स राज्यको करिब २ हजार हेक्टर क्षेत्रको झाडी डढेलोका कारण ध्वस्त भएको थियो । डढेलोका कारण सयौं वन्यजन्तु मरेका थिए ।
पछिल्लो समय खडेरीको चपेटामा परेको न्यु साउथ वेल्समा गत साता हल्का वर्षा भएपछि किसान तथा सर्वसाधारणले राहत अनुभव गरेका थिए । यद्यपि, थप वर्षा नभएसम्म डढेलोको जोखिम उत्तिकै रहेको अधिकारीहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्